सबै एकातिर भए पनि म भन्छु- विशेष महाधिवेशन अवैधानिक होः नेता डा.रावल (भिडिओसहित)


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रणबहादुर रावलले विशेष महाधिवेशन अवैधानिक रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले म्याद सकिएका महाधिवेशन प्रतिनिधिहरुको सहभागितामा गरिएको विशेष महाधिवेशनलाई वैधानिक भन्न नसकिने बताएका हुन् । उनले सबै एकातिर भए पनि आफूले यसलाई अवैधानिक नै भन्ने बताए ।

‘विधि र पद्धति हेर्ने हो भने म एक्लो भए पनि, सम्पूर्ण एकातिर भए पनि म भन्छु– यो अवैधानिक हो । महाधिवेशनका सदस्यहरुको म्याद पनि सकिएको, सकिएको बेलामा १५औं अधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि महामन्त्रीको हो । सभापतिलाई अरुले मराशन्न अवस्थामा पुर्याएको बेलामा यही बेला हामी गल्हत्याउँछौं भन्ने भावना कसैबाट पनि आउनुहुँदैन,’– उनले भने ।

उनले विशेष महाधिवेशनले नयाँ नेतृत्व छान्न पनि नपाउने दाबी गरे । उनले अब १५औं अधिवेशनलाई कसरी हुन्छ छिटोभन्दा छिटो निर्णय गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । सभापति शेरबहादुर देउवाको कार्यकाल १५औं अधिवेशन नभएसम्म कायमै रहने उनले बताए ।