सुनचाँदीको मूल्य आज पनि बढ्यो


काठमाडौँ, २९ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु पाँच हजार १९५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस