काठमाडौं, २९ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक एवं नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व महामन्त्री मनोजमणि आचार्यले विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि लिएर सिंगो केन्द्रीय कार्यसमितिले अपनत्व लिने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समापनसम्म देउवा, कार्यवाहक सभापति खड्कालगायत आएर विशेष महाधिवेशनको अपनत्व लिने बताएका हुन् । देशभरीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको कुरामा आफूहरु टुलुटुलु हेरेर बस्न नसकेको कारण विशेष महाधिवेशन आह्वान गरिएको उनले बताए ।
‘सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, सिंगो नेपाली कांग्रेस केन्द्रीय समितिले नै यसको अपनत्व र स्वामित्व लिएर समापनसम्म आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । देशभरका महाधिवेशन प्रतिनिधि भनेको सामान्य होइनन् नि । केन्द्रीय समितिले त इन्कार गर्यो । हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । पार्टीलाई एकतावद्ध बनाएर फागुन २१ गतेको निर्वाचनमा जानुपर्छ,’– उनले भने ।
कांग्रेसको विधानमा असाधारण अवस्था आउँदा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउन पाउँछन् भन्ने व्यवस्था रहेको उनले बताए । भदौ २३ र २४ गतेपछिको अवस्था, देशमा दलविहीन सरकारको अवस्थालगायतलाई साधारण अवस्था मान्न नसकिने उनले बताए ।
नियमित अधिवेशनको कार्यतालिका ल्याएर संस्थापन पक्षले हलो अड्काएर गोरु चुट्ने काममात्रै गरेकाले आफूहरुले विशेष महाधिवेशन आह्वान गर्नुपरेको उनले बताए । उनले विशेष महाधिवेशनले नेतृत्व, नीति र विधि परिवर्तन हुने बताए । विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तन वैध हुने उनले बताए । कांग्रेसभित्र मात्रै नभएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अन्य दलमा पनि उत्तिकै लोकप्रिय रहेको उनले बताए । महामन्त्रीद्वयलाई कांग्रेसभित्रको सम्पत्तिको रुपमा लिनुपर्ने उनले बताए ।




प्रतिक्रिया