काठमाडौं, २९ पुस । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका सुमन सायमीसहित सहकारी पीडित र नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।
नेता सायमीका अनुसार भोलि (बुधबार) आयोजित कार्यक्रममा उनीहरु नेकपा प्रवेश गर्ने तयारी रहेको छ । सायमी, सहकारी पीडित र नदी किनार मापदण्डविरुद्ध संघर्षरत नेताहरुबाहेक राष्ट्रिय मुक्ति पार्टीका अन्य नेताहरु पनि नेकपा प्रवेश गर्ने बताइएको छ । आफूहरुले उठाउँदै आएका मुद्दालाई नेकपाले अपनत्व ग्रहण गरेकाले सो पार्टीमा प्रवेश गर्न लागेको पनि सायमीले बताए ।
नेकपामा प्रवेश गर्न लागेका सायमी काठमाडौंको कालिमाटीका स्थानीय हुन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवार बन्ने पनि बताइएको छ । सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) मा उठेका थिए । त्यसबेला सायमीले १३ हजार ७ सय ७० मत पाएका थिए । गत स्थानीय तह निर्वाचनपछि स्वतन्त्र अभियानमा लागेका सायमी २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि लडेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले हराएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा सायमीले ६ हजार १ सय ७९ मत पाएका थिए ।




प्रतिक्रिया