सिके राउतले खसी–बोका बेचेजस्तै समानुपातिक सिट बेचेको आरोप (भिडिओसहित)


काठमाडौं, २९ पुस । जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् । उनले जनमतले समानुपातिक सिटलाई खसी बोका खरिद विक्री गरेजसरी बिक्री गरेको टिप्पणी गरिन् ।

‘करोडभन्दा माथिको बार्गेनिङ, जातीय सौदाबाजीमा पद बाँडियो । यही आज जनमत पार्टीको राजनीतिक सिद्धान्त बनेको छ । समानुपातिक सदस्यहरुलाई सत्ताको मोह देखाएर पशुजस्तै पैसामा खरिद गरी सत्तामा पुर्याइन्छ,’– उनले भनिन् ।

उनले जनमतको समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएर गएको भए पनि डा.राउतले पैसाको बार्गेनिङ गरेर पहिलो र दोस्रो नम्बरको सिट बेचेको उनको आरोप छ । पैसा माग्न डा.राउतले अरुलाई नै जिम्मेवारी दिने गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘मेरो नाम पहिलो नम्बरमा सिफारिस भएर गएको थियो । भोलिपल्टको बैठकमा मसँगै पैसाको बार्गेनिङ भयो । मेरो नाम तेस्रो स्थानमा राखेर पहिलो र दोस्रो किनबेच भयो ।’

नेतृ खड्कालगायत एक सय २ जना नेता तथा कार्यकर्ताले पार्टीं साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको पनि बताइएको छ । पार्टी परित्याग गर्नेमध्ये २० जना समानुपातिकको बन्दसूचीमा रहेकाहरु छन् ।