काठमाडौं, २९ पुस । नेपाली कांग्रेस संस्थापन पक्षधरका वार्ता टोलीका सदस्यहरु सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा पुगेका छन् । विशेष महाधिवेशन पक्षधरको सन्देश लिएर उनीहरु सभापति देउवा निवासमा पुगेका हुन् । संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरबीच आज विहान वार्ता भएको थियो । उक्त वार्तामा विशेष महाधिवेशन पक्षधरले आफ्ना मागहरु राखेका थिए । दुवै पक्षले आ–आफ्नो माग राखे पनि वार्ता भने निष्कर्षमा पुग्न सकेको थिएन ।
पहिलो चरणको वार्ताको प्रगति सुनाउन उनीहरु देउवा निवासमा पुगेका हुन् । सभापति देउवा र मध्यमार्गी बाटोमा रहेको डा.शेखर कोइरालाको तर्फबाट वार्तामा बालकृष्ण खाण, रमेश लेखक, जीवन परियार र डा.मिनेन्द्र रिजाल सहभागी थिए ।
वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वभाविक माग राख्दा सहमति जुट्न नसकेको संस्थापन पक्षधरका नेताहरुको भनाइ छ । विशेष महाधिवेशन पक्षधरहरुले चुनावको टिकटमा पूर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टी पुनर्संरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव ल्याएका थिए ।
यता काठमाडौंको भृकुटीमण्डमा भने गत पुस २७ गतेदेखि विशेष महाधिवेशन भइरहेको छ । विशेष महाधिवेशनको कार्यतालिकाअन्तर्गत निर्वाचन समितिले नेतृत्व निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । महाधिवेशन हलमा मधेश प्रदेशका प्रतिनिधिहरुले महामन्त्री थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।




प्रतिक्रिया