कांग्रेस विशेष महाधिवेशनले निर्वाचनमार्फत चुन्दैछ यी पदाधिकारीहरु


काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा निर्वाचनमार्फत पदाधिकारी र सदस्यहरु चुनिने भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री ८ जनासहित कोषाध्यक्षबाहेकका सबै पदाधिकारीहरु निर्वाचनमार्फत चुन्नेछ ।

साविकको विधानअनुसार सबै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको एक सदस्यले बताए । अहिलेसम्म सभापतिका लागि ३ वटा फारम वितरण भएको पनि उनले बताए । ‘अहिले फारम वितरणको काम भइरहेको छ । सभापतिका लागि ३ वटा फारम वितरण भएको छ । उपसभापतिदेखि सहमहामन्त्रीसम्मका लागि एउटै फारम छ । उक्त फारम चाहिँ अहिलेसम्म ५०÷५१ वटा वितरण भएको छ,’– निर्वाचन समितिमा रहेको एक सदस्यले भने ।

विधानअनुसार खुल्लातर्फ ३५ जना केन्द्रीय सदस्य पनि चुनिने छन् । निर्वाचन कार्यतालिकाअनुसार आज (मंगलबार) राति ९ बजेदेखि भोलि विहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले सभापतिको उम्मेदवारीमा ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र सदस्यका लागि १० हजार रूपैयाँ शुल्क तोकेको पनि उनले बताए ।