धनुषा, २९ पुष । रिपोर्टर्स क्लब नेपालका संस्थापक सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मधेश सबै कुराले सम्पन्न हुँदापनि विकास र समृद्धिको हिसाबले भने धेरै पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भ्रष्टाचारीलाई खबरदारी एवं लघुवित्त पीडितलाई न्याय दिलाउन आम जनता पार्टीले आज धनुषाको महेन्द्रनगरमा आयोजना गरेको विशेष निर्वाचनकेन्द्रित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मधेशका किसान अहिलेपनि ठूलो समस्यामा रहेको र मलखादलगायतको समस्या अझैपनि कायम रहेको भन्दै आफू आजबाट मधेशका जनताको सबैखाले समस्याको समाधानको लागि २४सै घण्टा सेवामा खटिन तयार रहेको उद्घोष गरे । मधेशको विकासबिना देशको विकास पनि असम्भव भएको उनको भनाई छ । मधेशी जनताको मुहारमा मुस्कान हेर्ने आफ्नो एकमात्र चाहना रहेको धमलाको भनाई छ । उनले समग्र मधेशमा सिचाईंको पहुँच पुर्याउने र त्यसको लागि आफूलाई साथ दिनपनि आग्रह गरे । मधेशको भूमिमा आर्थिक क्रान्ति गर्ने र विकास गर्ने भन्दै मधेश आँफैमा स्वर्गको भूमि भएको भन्दै धमलाले सम्भावनाको कुरा सुनाए ।
उनले उखु किसानलाई यहाँका दलाल र विचौलियाले श्रमको मूल्य नदिएको भन्दै अब ती शोषण गर्नेहरुलाई लखेट्ने चेतावनी दिए । उनले आफूले सुरुवातदेखि नै भुईंमान्छेको लागि पत्रकारिता गरेको भन्दै निमुखा जनताको साथमा आफू सदैव रहने पनि विश्वास दिलाए । उनले आगामी सरकार नयाँ शक्तिले गर्नुपर्ने भन्दै राजनीतिमा तेस्रो धारको जन्म हुनसक्ने बताएका हुन् । उनले तेस्रो धारमा आम जनता पार्टी, जनादेश पार्टी, उज्यालो नेपाल पार्टीलगायतका शक्ति रहने बताए । उनले देशले अहिले नायक खोजेको र २४सै घण्टा जनताको सेवामा तल्लिन हुने नेता खोजेको बताए । धमलाले अघिल्लो वर्ष मेधशमा खडेरी पर्दा आफू मधेशमा ओर्लिएर यहाँको समस्या उठाएको र राज्यलाई झक्झकाएको पनि सुनाए ।




प्रतिक्रिया