फुटको संघारमा कांग्रेस : बटमलाइनमा देउवा सहमत नभएपछि आपसी संवाद भाँड्दै अघि बढे थापा र शर्मा


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको राजनीतिक संन्यासको अडान कायम राखेपछि पार्टी औपचारिक रूपमै फुटको संघारमा पुगेको छ । विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस फुटको संघारमा पुगेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने र सभापति देउवाले राजनीतिबाट विश्राम लिने विषयमा संस्थापन पक्ष तयार नहुँदा विवाद मिल्न नसकेको जनाइएको छ।

विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको बटमलाइनमा सभापति देउवातयार नभएपछि आपसी संवाद भाँड्दै महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधरले देउवालाई गलाएर सहमतिमा ल्याउन हिजो निर्वाचन कार्यक्रम सार्वजनिक गरेर सारेपनि अहिले उम्मेदवारी मनोनयन दर्ता अघि बढाउँदैछन् ।

मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्म हुने विशेष महाधिवेशन निर्वाचन समितिले जनाएको छ । मंगलबार साँझसम्म सञ्चालन भएको बन्दसत्रले महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गरेको छ । यस्तै, आज कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।