कांग्रेस अप्ठ्यारोमा पर्छ भने देउवाले सभापति छोड्न तयार हुनुपर्छः अध्यक्ष दाहाल (भिडिओसहित)


काठमाडौं, ३० पुस । प्रजातान्त्रिक सेनानी संघ नेपालका अध्यक्ष बालकृष्ण दाहालले कांग्रेस मिलेर जानुपर्छ भनेर आफूहरुले निरन्तर दवाब दिइरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसलाई एकतावद्ध बनाउनका लागि आफूहरुले विशेष महाधिवेशन स्थलमा र पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको र पार्टी नेतृत्वलाई भेटेर मार्ग प्रशस्त गर्नका लागि दवाब दिएको बताएका हुन् ।

‘कांग्रेस एकतावद्ध भएर जानुपर्छ । संवादको प्रक्रिया पनि हाम्रै दवाबले सुरु भएको हो । हामीले निरन्तर दवाब दिइरहेका छौं । पार्टी एकताको लागि हामीले गरेका हौं । हामीले नेतृत्वलाई भेटेर सजग गराएका छौं । हामी नेपाली कांग्रेस एक देख्न चाहन्छौं,’– उनले भने ।

पार्टी अप्ठ्यारोमा पर्छ भने पार्टी सभापति शेरबहादुर देउवाले पद छोड्न तयार हुनुपर्ने उनले बताए । ‘यदि लोकतन्त्र अप्ठ्यारोमा पर्छ, नेपाली कांग्रेस अप्ठ्यारोमा पर्छ भने शेरबहादुर दाइमात्रै भन्दिनँ म, जुनसुकै दाइहरुले पनि पद छोड्न तयार हुनुपर्छ,’– उनले भने ।