काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कानूनी सल्लाहकार अधिवक्ता केशवराज जोशीले अहिले आह्वान भएको विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानले नचिन्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई रहेको र उक्त केन्द्रीय समितिले मंसिर १५ गते नै विशेष महाधिवेशनको औचित्य नरहेको भनी व्याख्या गरेको पनि उनले बताए । कांग्रेसको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनको सम्बन्धमा भएको व्यवस्था अस्पष्ट रहेको र व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई हुने उनले बताए ।
‘विधानको धारा ५० मा विधानमा त्यस्तो किसिमको अन्यौल भयो भने केन्द्रीय कार्यसमितिले विधानको ब्याख्या गर्ने छ भन्ने छ । व्याख्या गरेको कुरा महासमिति वा महाधिवेशन जो पहिला आउँछ, त्यसले अनुमोदन गर्ने भनिएको छ । केन्द्रीय कार्यसमितिले यो विशेष महाधिवेशनको औचित्य १५ गते नै सकियो भनेर ब्याख्या गर्यो,’– उनले भने ।
त्यस्तै, भण्डै ५५ प्रतिशतले माग गरेको भनिएको विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै सकिएको उनले बताए । विशेष महाधिवेशनको माग दर्ता गराउँदा मंसिर २१ गतेसम्म नियमित महाधिवेशन वा विशेष महाधिवेशन भनिएको खण्डमा मंसिर २१ गतेसम्म नियमित महाधिवेशन हुन सक्दैन भनेर मंसिर १५ गते नै निर्णय हुँदा उनीहरुले विशेष महाधिवेशन नगर्नुले पनि त्यसको औचित्य उतिबेला नै सकिएको बताए ।
‘उहाँहरुले माग गरेको धारा १७ (२) बमोजिम मंसिर २१ सम्म नियमित महाधिवेशन वा विशेष महाधिवेशन भनिएको छ । नियमित महाधिवेशनको मिति पुस २६ देखि २८ गते तोकियो । त्यो दर्खास्तमा भएको कुरा भन्दा उहाँहरुले अन्यथा भन्न पाइन्छ ?’ प्रश्न गर्दै उनले भने ।
अब कांग्रेसलाई एकतावद्ध राख्नका लागि दुईवटा विकल्प रहेको पनि उनले बताए । उनले पहिलो विकल्पको रुपमा विशेष महाधिवेशन पक्षधरहरु ब्याक हुनुपर्ने र दोस्रो विकल्प केन्द्रीय समितिले स्वीकार गरेर विशेष महाधिवेशनलाई स्वीकार गर्नुपर्ने उनले बताए ।
‘कि यसलाई केन्द्रीय कार्यसमितिले निर्णय गरेर ओनर लिनुपर्यो । केन्द्रीय कार्यसम्पादन समितिले पुस १८ गते गरेको निर्णय जो छ, त्यसलाई बदर गरेर केन्द्रीय कार्यसमितिले । होइन भने जसले विशेष महाधिवेशनको नाममा भेला गरिराखेका छन्, उहाँहरु फिर्ता हुनुपर्यो । यो भन्दा अर्को विकल्प मैले देखेको छैन,’– उनले भने ।




प्रतिक्रिया