आज पनि वार्ता असफलः देउवा निवासबाट बाहिरिए गगन–विश्व


काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाबीच भएको आजको वार्ता निष्कर्षविहीन भएको छ । आज (बुधबार) देउवा निवास महाराजगञ्जमा वार्ताका लागि महामन्त्रीद्वय थापा र शर्मा पुगेका थिए । देउवासँग १ घण्टा लामो छलफल भए पनि वार्ता निष्कर्षमा नपुगेको स्रोतले बतायो ।

सहमति हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्मा देउवा निवासबाट बाहिरिएका छन् । स्रोतका अनुसार वार्तामा सभापति देउवा निर्वाचनमा टिकट वितरणका लागि हस्ताक्षर अरुलाई हस्तान्तरण गर्न तयार भएकोमा महामन्त्रीद्वयले देउवाले सभापतिबाट राजीनामा दिनुपर्ने अड्डी कसेपछि आजको वार्ता असफल भएको बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ गतेदेखि जारी रहेको छ । विशेष महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यतालिकासमेत प्रकाशन भइसकेको छ । विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।