काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले पार्टी विभाजन नहुने दाबी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति शेरबहादुर देउवाको मानमर्दन नहुनेगरी विवादलाई निष्कर्षमा पुर्याइने बताए ।
साथै, उनले देउवाले अहिले सभापतिबाट राजीनामा दिनुपर्ने विषयमा पुग्न पनि आवश्यक नरहेको बताए । कांग्रेसको १५औं महाधिवेशनको मिति तय भइसकेको बताउँदै उनले विवादको निकास निस्किने विश्वास व्यक्त गरे ।‘सभापतिज्यूको मानमर्दन नहुनेगरी निष्कर्षमा पुगिन्छ,’– उनले भने ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा गत पुस २७ गतेदेखि जारी रहेको छ । विधान महाधिवेशनमा संस्थापन समूहका अधिकांश नेताहरु सहभागी छैनन् । विधान महाधिवेशनले भने नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएपछि कांग्रेसमा विभाजनको संकेत देखिएको हो ।
नेता खड्का भने दुवै पक्षलाई मिलाएर कांग्रेसलाई एकतावद्ध बनाइराख्न मध्यमार्गी धारमा उभिएका छन् । उनले सभापति देउवा र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासँग पनि कांग्रेसको एकताका लागि यो बीचमा पटक–पटक छलफल गरेका छन् ।




प्रतिक्रिया