मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम


मुस्ताङ, ३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको सङ्ख्या पाँच हजार ७६८ र पुरुष मतदाताको सङ्ख्या पाँच हजार ५५९ रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुस्ताङका पाँच स्थानीय तहका कूल मतदाता सङ्ख्याको अनुपातमा पुरुष मतदाताको सङ्ख्याभन्दा महिला मतदाताको सङ्ख्या एक दशमलव ८४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङका पाँच पालिकामा गरी कूल दश हजार ९५६ जना मतदाता थिए । निर्वाचन अधिकारी ज्ञवालीका अनुसार मुस्ताङको घरपझोङमा १७८, थासाङमा ९०, वारागुङ मुक्तिक्षेत्रमा ९१, लोघेकर दामोदरकुण्डमा नौ र लोमान्थाङ गाउँपालिकामा तीन जना नयाँ मतदाता थपिएका हुन् ।

सबै मतदान केन्द्र सडक सञ्जालमा

मुस्ताङका ३९ वटै मतदान केन्द्र तथा मतदानस्थलमा सडकको पहुँच पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सडकको पहुँच पुगेका अधिकांश मतदान केन्द्र तथा मतदानस्थल कच्ची सडक सञ्जाल विस्तार भएका निर्वाचन अधिकारी ज्ञवालीले बताए ।

निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङस्थित समजुङ मतदान स्थल खारेज गरी लोमान्थाङ–२ छोसेरस्थित दिव्यदीप माध्यमिक मतदान केन्द्रमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड–५ याराका मतदातालाई मतदान गर्न सजिलो बनाउने उद्देश्यले उक्त स्थान नजिकै अर्को मतदानस्थल थप गरिएको छ ।

साङ्ता मतदानस्थल कठिन

मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गतको साङ्ता गाउँमा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीका साथै यहाँका मतदातालाई सेताम्मे हिउँले भरिएको सडक पार गरेर काममा खटिन र मतदान गर्न जान पजि असहज हुनसक्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । गत कात्तिक १० गतेको भारी हिमपातका कारण मुस्ताङको साङ्ता सडक सेताम्मे हिउँका कारण एक महिनाअघिदेखि अवरुद्ध छ ।

साङ्ता गाउँमा यसअघिको निर्वाचनमा ३४ जना मतदाता थिए । यहाँका नागरिक अहिले जाडो छल्न गाउँ छोडेर फल्याक, धार्काजुङ र जोमसोम गएर बसेका छन् । कतिपय पोखरा र काठमाडौँ झरेका छन् । साङ्ता गाउँका स्थानीय जाडो छल्न पारिलो स्थानमा झरेको गर्मीयाम लागेपछि चैत–वैशाखमा मात्रै साविककै स्थानमा फर्किन्छन् ।

साङ्ता गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले गाउँ जाने मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेर बसेकाले यहाँसम्म पुग्न कठिन हुनसक्ने बताए । हिउँदयामको हिउँ चैत–वैशाखसम्म नपग्लिने भएकाले यहाँका सडकमा डोजरले हिउँ पन्छ्याउन सकेमात्रै सवारीसाधन लैजान सकिने उनले जानकारी दिए ।

“गाउँका सबै नागरिक अहिले बाहिर छन्, भोट हाल्ने बेलामा पनि फर्किंदैनन् होला । भोट खसाल्न सुरक्षाकर्मी, पार्टी तथा अन्य सरोकार भएका निकायको समन्वयमा मतदाता लैजाने व्यवस्था गर्नुपर्छ”, वडासदस्य गुरुङले भने, “फागुनमा पनि हाम्रो गाउँमा अत्यधिक चिसो हुन्छ ।” रासस