विशेष महाधिवेशन आयोजक हलले भन्यो : महामन्त्रीद्धय र सहमहामन्त्री मन्सुरलाई पार्टी सदस्यबाट निष्कासित गर्ने निर्णय खारेज गर्दछ


काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका विशेष महाधिवेशन आयोजक हलले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा, सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज गरेको छ । विशेष महाधिवेशन आयोजकको तर्फबाट अजयबाबु शिवाकोटीले यस्तो जानकारी गराएका हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय समितिको नाममा अनधिकृत रुपमा भएको यो निर्णयले कांग्रेसलाई एकताबद्ध बनाईराख्न भएका आफूहरुको प्रयासलाई समेत बाधित तुल्याएको भनेका छन् ।

उनले लेखेका छन्

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ ।
नेपाली कांग्रेस केन्द्रीय समितिका नाममा अनधिकृत रुपमा भएको यो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइ राख्न भएका हाम्रा सबै प्रयासलाई समेत बाधित तुल्याएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तर्फबाट यो विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमा आउनुभएका सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका शुभेच्छुक मतदाता र सबै प्रजातन्त्रप्रेमीहरूमा एकताबद्ध हुन तथा अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगण्डाबाट रतिभर पनि विचलित नहुन आग्रह गर्दछौं।
र यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो। र आधिकारिक रहनेछ। धन्यवाद जय नेपाल।