काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कारबाही आजकै मितिदेखि लागू हुने बताए ।
‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३४ को खण्ड क, ख, ग, ङ विरुद्धको कार्य गर्ने पदाधिकारी र सदस्यहरुलाई कारबाही गर्नुपरेको कारणले नेपाली कांग्रेसको पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजको मितिबाट लागू हुनेगरी पार्टीबाट निष्काशन गरिएको छ,’– नेता विश्वकर्माले भने ।
कांग्रेस केन्द्रीय समिति बैठकले कारबाहीमा परेको तीन पदाधिकारीबाहेकका अन्य पदाधिारीहरुलाई पार्टीको जिम्मेवारी सम्झिएर पार्टीमा फर्किन र नियमित रुपमा कामकारबाही गर्नका लागि आह्वान गरेको छ । यद्यपि कारबाही फुकुवाका लागि महामन्त्रीद्वय शर्मा, थापा र सहमहामन्त्री मनसुरले पुनरावेदन दिएको खण्डम केन्द्रीय कार्यसमितिले सुनुवाइ गर्ने नेता विश्वकर्माले बताए ।
‘कारबाही फुकुवा गर्नका लागि सम्बन्धित व्यक्तिले कारण खुलाई स्पष्टीकरण अथवा विभिन्न ढंगबाट पुनरावेदन गरेमा केन्द्रीय कार्यसमितिले सुनुवाइ गर्न सक्छ,’– उनले भने ।




प्रतिक्रिया