काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी कसैको प्राइभेट कम्पनी नभएको टिप्पणी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्री थापासहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरेसँग उनले यस्तो टिप्पणी गरेको हुन् ।
विशेष महाधिवेशनको पक्षमा लागेका महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग आज (बुधबार) विहानमात्रै पनि वार्ता गरेका थिए । वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि निष्कर्षमा पुग्न सकेको थिएन । आज दिउँसो बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ ।
विशेष महाधिवेशन हलमा रहेका महामन्त्री थापाले आफूहरुविरुद्धको कारबाहीबारेमा जवाफ दिँदै भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२र०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’




प्रतिक्रिया