रास्वपा सभापति लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता (निर्णयसहित)


काठमाडौं, ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय भएको छ । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् । लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइदिन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता भएसँग लामिछानेको सहकारी ठगी मुद्दामात्रै बाँकी रहने छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिइएको खण्डमा लामिछानेले आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन जितेर संसद् छिर्ने बाटो खुल्ने छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा भने उनले चुनाव जिते पनि संसद् छिर्न पाउने छैनन् । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा चुनाव जिते पनि उनको पद स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था रहेको छ ।

रास्वपा सभापति लामिछानेविरुद्धकोसम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय पढ्न यहाँ क्लिक गर्नुहोस् ।