काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आफू पार्टी मिल्नुपर्छ भन्ने पक्षको नेता रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै महरले कांग्रेस दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताए ।
शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षधरबीच चार÷पाँच वटा विषयमा सहमति भइसक्दा पनि पार्टी विभाजनको मोडतिर धकेलिएको उनले बताए । विशेष महाधिवेशनलाई केन्द्रीय समितिले अपनत्व लिनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षधरको माग स्वीकार गर्न देउवा सहमत भएको, संसदीय बोर्ड गठन, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचनको टिकट बाँड्ने सम्मको विषयमा सहमति भइसकेको अवस्थामा पनि पार्टी एकता जोगाउन नसकिएको उनले बताए ।
निवर्तमान महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले देउवाले चुनाव लड्न नपाउने र प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने विषय अगाडि सारेपछि विवाद नमिलेको उनले बताए । ‘चुनाव नै नलड्ने कमिटमेन्ट चाहिन्छ, चुनाव लड्न पाउनुहुन्न भन्ने थप विषय थियो । अर्को विषय निवर्तमान महामन्त्री विश्वप्रकाश शर्माले वार्ता सकिइसकेपछि प्रधानमन्त्रीको पनि घोषणा गर्नुपर्छ भन्नुभएछ,’– नेता महरले भने ।




प्रतिक्रिया