निर्वाचनको मुखमा कांग्रेसभित्र विग्रह ल्याउनु दुर्भाग्यपूर्ण छः प्रकाशशरण महत (भिडिओसहित)


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशन पार्टीको केन्द्रीय समितिले मात्रै बोलाउन सक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता महतले विशेष महाधिवेशनको वैधानिकता र औचित्य नरहेको बताए । नेता महतले विशेष महाधिवेशनको प्रक्रिया र व्यवस्था नै गलत रहेको बताए । हस्ताक्षर गर्ने ५४ प्रतिशतले नियमित महाधिवेशन भनेकोमा केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा गगन थापा र विश्वप्रका शर्मा त्यसको खिलाफमा गएको नेता महतले बताए ।

‘कुनै पनि प्रक्रिया पूरा नगरी विशेष अधिवेशन भनेर बोलाइयो । त्यसको कुनै पनि वैधानिक, कानूनी आधार छैन । त्यस्तो विशेष अधिवेशनको नाममा गरिएको निर्णयको वैधानिकता हुन सक्दैन । अहिले पनि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । नियमित महाधिवेशन वैशाखमा तोकिएको छ । नियमित महाधिवेशन वैशाखमा हुन्छ,’– उनले भने ।

केन्द्रीय समितिको निर्णय नभइ महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउनै नसक्ने उनको जिकिर छ । महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशतले माग गरेमा बोलाउनुपर्नेमा निवेदनमै पहिलो प्राथामिकता नियमित महाधिवेशन भनेकोमा नियमित महाधिवेशनको कार्यतालिका आइसकेको खण्डमा त्यो वैधानिक नहुने, त्यसको गरेका निर्णय पनि वैधानिक नहुने उनले बताए ।

साथै, केन्द्रीय कार्यसमितिको निर्णय विना भएको विशेष महाधिवेशनलाई निर्वाचान आयोगले आधिकारिकता नदिने उनले बताए । विशेष महाधिवेशनले वैधता पाउने कुनै आधार र कारण नरहेको उनको दाबी छ । आम निर्वाचनको मुखमा कांग्रेसभित्र विग्रह ल्याउनु दुर्भाग्य रहेको उनले बताए ।