कांग्रेस फुटेकाले एमालेलाई धेरै सजिलो भएको छ, तर हामी खुसी छैनौंः सचिव बस्नेत


काठमाडौं, १ माघ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस विभाजन भएकाले आफूहरुलाई धेरै सजिलो भएको प्रतिक्रिया दिएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस फुट्दा आफूहरुलाई धेरै सजिलो भए पनि खुसी भने नरहेको बताए ।

सरकारको एमाले विभाजन गर्न चाहना पूरा नभएपछि ग्राण्ड डिजाइनबाट कांग्रेस विभाजन गराइएको बस्नेतको दाबी छ । ‘प्रमुख प्रतिस्पर्धी दल फुटेको कारणले हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो,’– उनले भने ।

कांग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुःखद रहेको पनि उनले बताए । एमाले सचिव बस्नेतले आजको राजनीति एमाले अध्यक्ष केपी शर्मा ओलीकै वरिपरी घुमिरहेको दाबी गरे ।