काठमाडौं, १ माघ । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय गरेको छ । आज (बिहीबार) ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । प्रवक्ता चालिसेले देउवाको हस्ताक्षर हटाएर सभापति थापाको राख्ने निर्णयको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय पनि भएको बताए ।
‘‘विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा हिजोका अभिलेखलाई आवधिक गर्न जे–जति निर्णय घटनाक्रम भएका छन्, त्यसलाई अपडेट गर्दै लाने हाम्रो निर्णय भएको छ । उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक सूची संशोधन गर्ने, दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता भएको हुनाले बाँकी कानूनी दायित्व पूरा गर्ने आजको बैठकले निर्णय लिएको छ ।
साथै, आसन्न प्रतिनिधिसभाको निर्वाचनको घोषणा पत्र निर्माणलाई सशक्त बनाउन सभापति थापाको अध्यक्षमा समिति बनाइएको पनि उनले बताए । कांग्रेसले स्पष्ट भिजन, ठोस योजना र कार्यनीतिसहित घोषणापत्र तयार गर्ने पनि चालिसेले बताए । केन्द्रीय समिति बैठक भोलि (शुक्रबार) पनि बस्ने प्रवक्ता चालिसेले जानकारी गराए ।
त्यस्तै, विशेष महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक सकेर पदाधिकारीहरू निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग प्रस्थान गरेको पनि बताइएको छ । उनीहरुले आवश्यक विवरण अध्यावधिक गराउने पनि प्रवक्ता चालिसेले बताए ।




प्रतिक्रिया