निर्वाचन आयोगमा गगनः ‘विशेष महाधिवेशनले कांग्रेसको पदाधिकारीसहित केन्द्रीय समिति परिवर्तन गरेको छ, अध्यावधिक गरिपाऊँ’


काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहितका पदाधिकारी निर्वाचन आयोगमा पुगेर केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निवेदन दिएका छन् । गत पुस २७ गतेबाट सुरु भएको कांग्रेसको विशेष महाधिवेशन हिजो (बुधबार) सम्पन्न भएको थियो । विशेष महाधिवेशनमा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु भने सहभागी भएका थिएनन् ।

आयोगलाई नवनिर्वाचित सभापति थापाले पार्टीको विधानको धारा ४६ बमोजिम गणपुरक संख्या पुगेको र यसरी आयोजना भएको विशेष महाधिवेशन .कांग्रेसको विधानको धारा १५ को व्यवस्थाअनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ भन्ने व्यवस्थाअनुरुप कांग्रेसका जे–जति निर्णयहरु छन्, ती निर्णयभन्दामाथि पार्टीको अधिवेशनको निर्णय हुने बताए । विशेष अधिवेशनले ती सम्पूर्ण अधिकार राख्ने पनि सभापति थापाले दाबी गरे ।

उनले विशेष अधिवेशनले पदाधिकारीसहित केन्द्रीय समिति पनि परिवर्तन गरेको जानकारी गराउँदै भने, ‘विशेष महाधिवेशनको अर्को दायित्व केन्द्रीय कार्यकारी समितिको चयन गर्नुपर्ने दायित्व भएको हुनाले त्यहीअनुरुप केन्द्रीय कार्यसमितिको पनि निर्वाचनको बाटोबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । त्यसैको जानकारी गराउने उद्देश्यले आज हामी यहाँ आएका छौं ।’

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको केन्द्रीय कार्यसमिति परिवर्तनको विवरण अध्यावधिक गरिपाऊँ भन्ने आफूहरुको निवेदन रहेको पनि उनले बताए । ‘पार्टी सभापतिलगायत सिंगो केन्द्रीय कार्यसमिति परिवर्तनको विवराण अध्यावधिक गराउनु हाम्रो कर्तव्य हो । निर्वाचन नजिक आएको हुँदा हामी यो विषयमा संवेदनशील छौं,’– सभापति थापाले भने ।

https://www.facebook.com/reel/1208550840822356