लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयमा ओलीको आपत्ति


काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन् ।

एमालेद्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे ।

लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए ।

‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ । लज्जाको विषय बनेको छ । यस्तो पनि हुन्छ ? डिम्बको कारोबार बिर्सौं भन्यो, फेरि अर्को काण्ड । अहिले अभियोग परिवर्तनको काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’ प्रश्न गर्दै ओलीले भने ।