काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जरपछि बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा पछिल्लो समय फेरि कर्मचारी आन्दोलन चर्किएको छ। कर्मचारीहरूले बनेपा स्थित केन्द्रीय कार्यालय घेराउ गर्दै प्रमुख कार्यकारी अधिकृत (CEO) विरुद्ध नाराबाजी गरिरहेका छन्।
यही अवसरमा CEO लाई कार्यालयमै थुन्ने प्रयास, राजीनामा माग तथा कार्य वातावरण अवरुद्ध पार्ने गतिविधि भएको दाबी गरिएको छ। यसका कारण संस्थाको नियमित कामकाज र सेवाप्रवाह प्रभावित भएको व्यवस्थापन पक्षको भनाइ छ।
संस्थाभित्रका स्रोतहरूका अनुसार हाल देखिएको आन्दोलन कर्मचारीका सेवा सुविधा, श्रम अधिकार वा हक–हितसँग सम्बन्धित नभई सञ्चालक टेक बहादुर बोहोराको उक्साहट र व्यक्तिगत स्वार्थसँग जोडिएको देखिएको छ। विशेष गरी साविक मिर्मिरे लघुवित्तका केही कर्मचारीलाई प्रयोग गरी संस्थामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।
हालै मात्र CEO मा नियुक्त भएका केशवप्रसाद पौडेललाई सञ्चालक बोहोरा संयोजक रहेको CEO छनोट समितिको सिफारिसमा सञ्चालक समितिले वि.सं. २०८२/०९/०३ गते नियुक्त गरेको थियो। तर बोर्डमा स्पष्ट बहुमत नपाएपछि सञ्चालक बोहोराले CEO नियुक्ति प्रक्रियामा अत्यधिक सक्रियता देखाउँदै आफ्ना स्वार्थअनुकूल निर्णय गराउन दबाब दिएको स्रोतहरूको दाबी छ।
स्रोतका अनुसार सञ्चालक बोहोराले कर्मचारी सरुवा–बढुवा, पदस्थापन तथा संवेदनशील आन्तरिक निर्णयहरूमा प्रभाव जमाउने प्रयास गरेका थिए। तर पेशागत, स्वतन्त्र र नियमनअनुकूल कार्यशैली अपनाएका CEO पौडेलले संस्थागत सुशासन, नीति-नियम तथा नियामक निर्देशन विपरीतका कार्य गर्न अस्वीकार गरेपछि विवाद चर्किएको बताइएको छ।
CEO नियुक्तिपछि सञ्चालक बोहोराले आफ्ना नजिकका नातेदार बिर्ख बहादुर बोहोरालाई मानव संसाधन विभागको इन्चार्ज कायम राख्न तथा HR विभागमा आफ्नै सिफारिसका व्यक्तिहरू राख्न दबाब दिएको, तर CEO ले नमानेपछि समस्या थप बढेको कर्मचारी स्रोतहरूले बताएका छन्।
त्यसपछि युनियनका केही व्यक्तिलाई प्रयोग गरी CEO माथि कार्यकक्षमै कुटपिट गर्ने प्रयास भएको तथा “मैले भनेको नमाने युनियन लगाएर हटाइदिन्छु” भन्ने धम्की र ब्ल्याकमेलसमेत गरिएको आरोप लागेको छ। संस्थागत सुशासनसँग सम्झौता गर्न अस्वीकार गरेकै कारण हालको आन्दोलन सुरु भएको कर्मचारीहरूको भनाइ छ।
यसैबीच, सञ्चालक बोहोरा आफैं विराटनगर र मधेस प्रदेशसम्म पुगेर कर्मचारीहरूलाई आन्दोलनमा सहभागी गराउन उक्साएको दाबी पनि गरिएको छ। तर कोशी र मधेस प्रदेशका अधिकांश कर्मचारीहरूले “सञ्चालक भएर आफैं आन्दोलन गराउनु गैरजिम्मेवार कार्य हो” भन्दै उक्त प्रयास अस्वीकार गरेको जानकारी त्यहाँका कर्मचारीहरूले दिएका छन्।
केन्द्रीय कार्यालयका वरिष्ठ कर्मचारीहरूका अनुसार सञ्चालक बोहोराले सामाजिक सञ्जालमार्फत संस्थाको विरुद्ध सामग्री पोस्ट गर्ने, CEO को राजीनामा माग्ने अभियानलाई प्रोत्साहन गर्ने, “संस्था डुब्न लाग्यो” भन्ने अफवाह फैलाउने तथा युनियनसँग आन्दोलनबारे Zoom बैठकसमेत गरेको प्रमाणहरू सार्वजनिक भएका छन्। यसले हालको आन्दोलन कर्मचारीको साझा एजेन्डाभन्दा पनि सञ्चालक बोहोराको व्यक्तिगत स्वार्थ पूर्तिका लागि नियोजित रूपमा अघि बढाइएको देखिएको उनीहरूको निष्कर्ष छ।
स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले पनि यस विषयलाई नजिकबाट निगरानी गरिरहेको छ। यसअघि दफा १०० अन्तर्गत कारबाही भई बोर्डबाट हटाइएका सञ्चालक बोहोरामाथि पुनः आवश्यक कारबाही नभए लगानीकर्ताको लगानी जोखिममा पर्ने चिन्ता व्यक्त गरिएको छ।
“यदि यो क्रम रोकिएन भने हामी शेयरधनीहरू नेपाल राष्ट्र बैंकमै पुगेर औपचारिक रूपमा ध्यानाकर्षण गराउनेछौँ,” एक शेयरधनीले बताए।




प्रतिक्रिया