आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई नै अध्यावधिक गर्नुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव


काठमाडौं, २ माघ । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले नेपाली कांग्रेसभित्रको विवाद मिलाउन आयोगले सर्वसम्मतीको प्रयास गर्नुपर्ने र त्यो सम्भव नभएको खण्डम विशेष महाधिवेशनलाई नै अध्यावधिक गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले महाधिवेशनलाई अध्यावधिक नगर्ने हो भने अप्ठ्यारोमा पर्ने बताए ।

महाधिवेशन कुनै पनि दलको सर्वोच्च निकाय रहेको बताउँदै उनले यसलाई नमान्नुको विकल्प नरहेको बताए । महाधिवेशन नै सबैभन्दा ठूलो अंग रहेको बताउँदै बढी विवाद नगरी आयोगले महाधिवेशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए ।

‘सर्वसम्मतको प्रयास गर्नुपर्छ । सर्वसम्मत भएन भने निर्णय गर्नुपर्छ, अध्यावधिक गर्नुपर्छ महाधिवेशनलाई । महाधिवेशनलाई मान्नुपर्छ । महाधिवेशनलाई मानेन भने अप्ठ्यारो हुन्छ नि त । महाधिवेशन भनेको पार्टीको सर्वोच्च निकाय हो । त्यसलाई मानेन भने कसलाई मान्ने छ । महाधिवेशन नै सबैभन्दा ठूलो हुन्छ । बढी विवाद नगरी महाधिवेशनलाई नै मानेर अगाडि बढ्नुपर्छ,’– पूर्व प्रमुख निर्वाचन आयुक्त डा.यादवले भने ।