चुनावको मुखैमा ओलीको गम्भीर टिप्पणी : प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेका छन्


काठमाडौं, २ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामाथिको आक्रमण अहिले पनि जारी रहेको उल्लेख गर्दै न्याय र लोकतान्त्रिक अधिकारका लागि सङ्घर्ष आवश्यक रहेको बताएका छन् । हिजो काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा प्रकाशित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले जनताले आक्रमणको विरोध गर्दै आफ्नो अधिकार प्राप्त गर्ने बताएका हुन् ।

‘आज नेकपा (एमाले) जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ,’ उनले स्पष्ट पारे । अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेको बताउँदै एमालेको सङ्घर्षको मुख्य उद्देश्य नेपाली जनताको सरकार स्थापना गर्नु रहेको प्रष्ट पारे । उनले भने,नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा उद्यम क्षेत्रमा आगो लगाउने काम भएको छ ।

उनले वर्तमान सरकारले जनताको सम्पत्ति लुट्नेहरूलाई संरक्षण गरेको र रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासमा सक्रिय भूमिका खेलेको भन्दै आक्रोश पोखे । ‘आज थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित र लज्जित भएको छ,’ उनले भने । अध्यक्ष ओलीले रवि लामिछानेको संगठित अपराध मुद्दा फिर्ता लिन लागेका महान्यायाधिवक्तालाई प्रश्न गर्दै भने–जनताको ठगिएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?