कांग्रेस फुटेर चुनाव रोकिँदैन, मैले त टिकट बाँड्न सुरु गरिसकेः प्रचण्ड


काठमाडौं, २ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको विभाजनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई कुनै असर नपार्ने बताएका छन् । आज (शुक्रबार) चितवनमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तोकिएकै मितिमा चुनाव हुने बताएका हुन् । प्रचण्डले जनता चुनावी मानसिकता लिएर अगाडि बढिसकेको र सरकार पनि चुनाव गराउनका लागि प्रतिवद्ध रहेको आफूले पाएको बताए ।

साथै, उनले आफूले नेकपाको तर्फबाट हिजोदेखि नै प्रतिनिधिसभा सदस्यको टिकट बाढ्न सुरु गरिसकेको पनि बताए । हिजो काठमाडौंमा टिकट बाँढेर चितवन आएको उनले सुनाए । ‘हिजो काठमाडौँमा टिकट बाँडेर चितवन आएको । मैले सरकारको जे कुरा बुझेको छु–राजनीतिक दलहरूको जसरी अगाडि बढेका छन्,’– उनले भने ।

प्रचण्डले चुनाव विना अर्को कुनै विकल्प देशको लागि अहिले उपयुक्त नरहेको बताए । उनले अरु विकल्प असहज रहेको बताए । चुनावभन्दा अर्को विकल्प खोज्न थालियो भने त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने उनको भनाइ छ । निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष चुनाव गराउन सबैले योगदान गर्नुको विकल्प नरहेको उनले बताए ।

कांग्रेसको विशेष महाधिवेशन र फुटको अवस्थाका कारण निर्वाचन नहुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग तथा सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेस फुटेर निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको पनि उनले सुनाए । प्रचण्डले भोलिसम्म कांग्रेसको विभाजन र आधिकारिकताको विवादबारे केही न केही निरूपण हुने र निर्वाचन प्रक्रिया अघि बढ्ने बताए ।