काठमाडौं, २ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक चुनाव जित्नका लागि अरु कोही लायक नरहेको बताएका छन् । काठमाडौंमा आजा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरुले चुनाव जित्ने कामै नगरेको बताए । उनले एमालेले सानो मार्जिनले नभएर ठूलो मार्जिनले भव्यताको साथ चुनाव जित्नुपर्ने उनले बताए ।
‘एमालेबाहेक चुनाव जित्न अरु कोही लायक नै छैन । एमालेले चुनाव जित्नुपर्छ । अरुले के काम गरेको छ र चुनाव जित्ने ? हामीलाई किन जनताले भोट दिने भन्ने कुरा बुझाउनुपर्यो । सामाजिक सञ्जालको बाढी चलाएर हाम्रोविरुद्ध दुस्प्रचार गर्नेहरु छन् । यसको विरुद्ध हामीले सुप्रचार गर्नुपर्यो,’– अध्यक्ष ओलीले भने ।
एमालेले गरेका कामहरुमात्रै जनताको बीचमा पुर्याउन सकिएको खण्डमा अरु कसैले पनि ढ्वाङ नथाप्दा हुने उनको टिप्पणी छ । एमालेले आफूले गरेको काम जनताको बीचमा प्रचार गर्नै नसकेको उनले बताए ।
साथै, ओलीले अहिले देशमा विभिन्न किसिमको तमासा भइरहेको बताए । महान्यायाधिवक्ता सविता भण्डारीले एकपछि अर्को तमासा देखाएको पनि उनले बताए । भण्डारीको पृष्ठभूमि डिम्ब व्यापार रहेको र अहिले आएर भविष्यमा पनि महान्यायाधिक्ताको कार्यालय कलङ्कित हुने काम गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने विषयमा असहमति जनाउँदै ओलीले भने, ‘अहिले देशमा तमासा भइराखेको छ । महान्यायाधिवक्ताको तमासा, एकपछि अर्को । पृष्ठभूमि छ– डिम्ब व्यापार । अहिलेको क्रियाकलाप छ– भविष्यसम्ममा पनि महान्यायाधिवक्ताको कार्यालय कलङ्कित हुनेगरी व्यवहार छ । त्यस्ता गैरकानूनी क्रियाकलाप गर्न पाइन्छ ? मुद्दा फिर्ता लिने सेटिङ्ग, जे गरे पनि हुने सेटिङ्ग ।’
साथै, उनले विभिन्न निकायका पदाधिकारीलाई सेटिङमा नचल्न चेतावनी दिए । आजमात्रै नभएर समय भोलि पनि आउने र आफूहरु पनि नेतृत्वमा पुग्ने भन्दै अध्यक्ष ओलीले एमालेलाई फसाउने जालो बुन्नतिर नलाग्न आग्रह गरे । उनले एमाले माकुराको जालोमा पर्ने झिङ्गा नरहेको पनि बताए । उनले अहिलेको सरकारले माकुराको जालोमा भैंसी पार्न खोजिरहेको पनि टिप्पणी गरे । तर, माकुराको जालोमा भैसी नपर्ने उनको भनाइ छ ।
‘आजमात्र होइन, भोलि पनि दिन आउँछ– अनेक सेटिङ्गमा संलग्न नहुनुस् । कोही निर्दोष कसरी फसाउने भनेर दिनरात जालो बुनिन्छ । एमालेलाई कसरी फसाउने ? अहिले पनि चलिराखेको छ । म उहाँहरुलाई भन्न चाहन्छु– माकुराको जालमा भैंसी परेको देख्नुभएको छ ? उहाँहरु माकुराको जालो बुनेर भैंसी पार्न खोज्नुहुन्छ । अहिले पनि त्यस्ता प्रयास भइरहेको छ । आजमात्रै होइन, भोलि पनि दिन आउँछ,’– उनले भने ।




प्रतिक्रिया