योगेशले देउवालाई सम्झाए एमाले फुटाउन ल्याएको अध्यादेश


काठमाडौं,२ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेस विभाजन भएकोप्रति दुःख व्यक्त गरेका छन् । उपमहासचिव भट्टराईले लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको कांग्रेस विभाजित हुनु दुःखद् रहेको बताउँदै एकतावद्ध हुने प्रयास गर्न सु्झाव दिएका छन् ।

पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कांग्रेसभित्रको विवादको कानुनी छिनोफानो हुनपर्ने उनले बताए । राजनीतिक वैधता र जनचाहना निर्णयको सर्वोपरि सवाल रहेको बताउँदै उनले कुनै उपायले कांग्रेस पुनः एक हुने अवस्था बन्नुृपर्ने बताएका छन् ।

एमाले उपमहासचिव भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको प्रसंग पनि स्मरण गराएका छन् । ‘तितो स्मरण होस्– संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिदा शेरबहादुर दाइ नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’– उनले भनेका छन् । त्यति बेला एमालेका सांसदहरुले ‘प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है’ भनेको पनि उपमहासचिव भट्टराईले स्मरण गराएका छन् ।