एमाले सचिवालय बैठक बस्दै, प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने


काठमाडौं, माघ ३ । आज नेकपा (एमाले)ले पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दै छ। एमालले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको हो ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले प्रतिनिधि सभा सदस्या निर्वाचनका उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेको छ । यसअघिको एमाले केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। जस अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ। हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकाले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ।