पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता


म्याग्दी, ३ माघ । मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिए ।

उनका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमश ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरु पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए ।

“मगर समुदायको जन्म, मृत्यु, बिवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुरख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले मालिकामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने, “अग्रज र नयाँ पुस्ताका कलाकार सँगै पुरख्यौली प्रतियोगितामा सहभागी भएर पुस्तान्तरणको वातावरण बनेको छ ।”

पुर्ख्यौली मा माया प्रेम, प्रकृति र सामाजिक घटनाहरुलाई सोरठी, यानीमाया, खेली, ठाडो खेली, दरखेली, भालै भाका, चुड्के खेली, लस्के खेलीको भाकामा गित गाउने गरिन्छ । गित मार्फत प्रकृति र देवी देवताको सम्मान गर्दा सरस्वती जागेर शरिर काम्ने यो नाचको अनौठो विशेषता रहेको मालिका गाउँपालिका–२ रुमका कलाकार तविलाल पुनले बताए ।

“पुर्ख्यौली  गित, नृत्यले देवी देवताहरुको सम्मान गर्छ,” उनले भने, “लोककथाका विषयलाई गित र नृत्यका माध्यमबाट प्रस्तुत गर्नुनै पुर्ख्यौली को प्रमुख विषेशता हो ।” दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । पुरख्यौली सात रात सात दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता छ ।

पुर्ख्यौली  नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।

विशेष गरी यो नाच शुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् । वैदेशिक रोजगारीका कारण युवा र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको मालिका गाउँपालिका–७ बिम तल्लोगाउँका बुद्धीबहादुर जुग्जालीले बताए ।

“केही वर्ष अघिसम्म बूढापाकाहरु मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उनले भने, “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुर्ख्यौली  संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिदैनौ ।” रासस