गगनको पक्षमा ९० प्रतिशत कांग्रेसी छन्, २/४ प्रतिशतले मुद्दा मामिला गरे पनि केही फरक पर्दैनः महामन्त्री घिमिरे (भिडिओसहित)


काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गरेर जाने कुरा नमिल्दा पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै महामन्त्री घिमिरेले शेरबहादुर देउवालगायतले प्रधानमन्त्रीको उम्मेदवार तोक्न नमान्दा अहिलेको परिस्थिति आएको बताएका हुन् ।

महामन्त्री घिमिरेले कसैलाई तलमाथि र विभेद नगरी प्रतिनिधिसभाको चुनाव गरेर अगाडि जाने पनि उनले बताए । ‘प्रत्यक्षतर्फको टिकट वितरणमा हामी पक्षपात गर्दैनौं । पार्टीका सबै नेताहरुलाई आम निर्वाचनको महाअभियानमा सहभागी हुनका लागि आग्रह गर्छौं,’– उनले भने ।

महामन्त्री घिमिरेले कांग्रेस एक भएर अगाडि बढ्ने सम्भावना रहेको र सहकार्यको ढोका खुल्ला रहेको बताए । अब देउवापक्षीय नेताहरु सर्वोच्च अदालतमा रिट लिएर जानु उपयुक्त नहुने उनले बताए । सबै गोलबद्ध भएर अगाडि बढ्ने र निर्वाचन जित्न र जिताउन लागि पर्ने नै अहिलेको उत्तम विकल्प रहेको उनको भनाइ छ ।

महामन्त्री घिमिरेले ९० प्रतिशत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अहिलेबाटै सभापति गगनकुमार थापाको पक्षमा रहेको बताए । अब ४/५ प्रतिशत नेताहरुले मुद्दा मामिला गरेर कुनै परिवर्तन नहुने उनको दाबी छ ।