आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने


काठमाडौं, ३ माघ । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर सर्वोच्च अदालत जाने भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षीय नेताहरुको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर जाने निर्णय गरेको हो ।

निर्वाचन आयोगले हिजो (शुक्रबार) कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको प्रतिवाद गर्ने तयारी गरेको छ । देउवा पक्षीय कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको बताए ।

निर्वाचन आयोगले उपस्थित सङ्ख्यासमेत नहेरी दूषित मनसायले एकलौटी निर्णय गरेको डा.महतले बताए । विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने आयोगको मनशाय देखिएको डा.महतको भनाइ छ । उनले भोलि नै सर्वोच्चमा रिट लिएर जाने बताए ।