काठमाडौं, ३ माघ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विशेष महाधिवेशनले मान्यता पाएसँगै पार्टीभित्रको राजनीतिक विवाद समाप्त भएको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने कुरामा आफूहरु अगाडि बढ्ने बताईन् ।
उपसभापति भुसालले पार्टीभित्रको कुरालाई सधैं राजनीतिक विषय बनाइन नहुने बताईन् । उनले अब शेरबहादुर देउवा पक्षका नेताहरु पार्टीभित्रको विवाद लिएर सर्वोच्च अदालत गएको खण्डमा संगठन झन कमजोर हुँदै जाने बताईन् । उपसभापति भुसालले नव पुस्ताहरुको चाहनाअनुसार कांग्रेस नयाँ ढंगले अगाडि बढेको बताईन् ।
कांग्रेसले कसैप्रति पनि पूर्वाग्रह राखेर व्यवहार नगर्ने उनले बताईन् । विशेष महाधिवेशनले विधान, संविधानलाई चिनेर आफ्नो अधिकारको लागि लडेको उनको दाबी छ । कांग्रेसभित्र लोकतान्त्रिकरण हुनुपर्छ भनेर आफूहरुले संघर्ष गरेको पनि उनले बताईन् । महाधिवेशन प्रतिनिधिहरुको बहुमतले निर्णय गरेको भए पनि सबै महाधिवेशन प्रतिनिधिहरुलाई एक ठाउँमा राखेर राजनीति अगाडि बढाइने बताईन् ।
देउवा पक्षले बोलाएको बैठकलाई अब केन्द्रीय कार्यसमितिको बैठक भन्न नमिल्ने उनले बताईन् । यसबाट नेपाली कांग्रेसको संगठनलाई विभाजनतिर अगाडि बढाउने र संगठनलाई कमजोर बनाउने उनको भनाइ छ ।




प्रतिक्रिया