काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता डा.रणबहादुर रावलले निर्वाचन आयोग प्रभावित भएर गगनकुमार थापाको पक्षमा आधिकारिकता दिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगले आफ्नो कर्तव्य निर्वाह गर्न नसकेको, आफ्नो संवैधानिक प्रक्रिया पूरा नगरेको, आफ्नो निरीहता प्रदर्शन गरेको बताएका हुन् । सडकबाट गरिएको निर्णयलाई भेरिफिकेसन नगरी हतार–हतारमा निर्णय गरिएको उनको भनाइ छ । यसले देशमा नीति, विधि, विधान र कानून मानिँदै रहेनछ भन्ने प्रष्ट भएको उनले बताए ।
‘निर्वाचन आयोगले अवैधानिक रुपले निर्णय गरेको छ । उहाँहरुलाई मोहरा बनाएर कांग्रेसजस्तो स्थापित पार्टीलाई आज छिन्नभिन्न बनाउने प्रयास गरियो, त्यो गम्भीर छ । चलखेलमा यो भएको छ । उहाँहरु प्रयोग हुनुभयो । यसले दुरागामी प्रभाव पार्छ । यो पद्धति र विकृतिहरु स्थापित हुन थाल्यो । निर्वाचन आयोग पनि प्रभावित हुन थाल्यो,’– उनले भने ।
आयोगले बहकाउमा गगनको पक्षमा कांग्रेसको आधिकारिकता दिएको भन्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने बताए । निर्णय गर्नेहरुले विधि, विधान र पद्धतिको धज्जी उडाएको उनको बुझाइ छ ।




प्रतिक्रिया