काठमाडौं, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता रञ्जित तामाङले दुईवटा अतिहरु (बालेन्द्र शाह र केपी शर्मा ओली) बाट मुलुकलाई बचाउनुपर्छ भनेर आफू झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताएका छन् । उनले ओली र बालेनले झापा क्षेत्र नम्बर ५ लाई चुनावी रणमैदान बनाउन लागेको र त्यसको विकल्प आफू रहेको बताए । मुलुकलाई संकटमा धकेल्ने ओली र मुलुकलाई संकट परेकाििवरुद्ध जोखिन नउठाउने बालेनका विरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि उनले बताए ।
‘यो मुलुकलाई दुईवटा अति (ओली र बालेन) बाट अहिले बचाउनुपर्छ । यो मुलुकलाई संकटमा धकेल्ने र यो मुलुकलाई संकट परेको बेलामा जोखिम नउठाउने । दुईवटा प्रवृत्तिहरुको रणमैदान झापा क्षेत्र नम्बर ५ बन्न दिन हुँदैन । राजनीति भनेको प्रतिशोध र प्रतिरोधको मात्रै कुरा होइन । राजनीति दलहरुले एजेण्डा र मुद्दामा चुनाव लड्ने हो । जनताको मन जितेर, त्यो आधारमा जनताले मत व्यक्त गर्ने हो । झापा ५ मा अहिले जसरी दुईवटा अतिहरुको बीचमा भिडन्त हुन खोजिरहेको छ, यो कुनै पनि मूल्यमा राजनीतिक छैन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा नेता तामाङले भने ।
नेता तामाङले प्रतिशोध र अराजकताले संसारमा राजनीतिलाई लिड गरेको कुनै उदाहरण नरहेको बताए । आज बालेन र ओलीबीच झापा ५ मा हुन लागिरहेको चुनावी भिडन्त जरुरी नै नरहेको उनको बुझाइ छ । बालेनले जेन–जी विद्रोहपछि जेन–जी अगुवाहरुले राखेको प्रस्ताव नकार्नु नै गलत रहेको उनको बुझाइ छ । जेन–जी विद्रोहपछि बालेनजीलाई जेनजीका अगुवाहरुले प्रधानमन्त्री बन्न र जेन–जीले उठाएका मुद्दाहरु प्रत्यक्ष निर्वाचित कार्यकारी, २०४६ पछि सरकारी ओहदा र जिम्मेवारीमा बसेकाहरुको सम्पत्ति छानविन गर्ने र भदौ २३ गतेको विद्यार्थीहरुको हत्यारालाई कारबाही गर्न आग्रह गर्दा बालेन तयार नभएको उनले बताए ।
यदि बालेन त्यसबेला प्रधानमन्त्री बन्नका लागि तयार भएको भए अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको वातावरण बनिसकेको हुने उनले दाबी छ । गत भदौ २३ गतेको सरकारको नैतिक नेतृत्व गरेका ओलीसँग चुनावी प्रतिस्पर्धा गर्छु भनेर बालेनले अहिले हाँस्याूपद कुरा गरिरहेको उनले बताए । आफू अब जनताबीचमा जाने र ओली, बालेन दुवै गलत छन् भनेर जनतालार्य बुझाएर अगाडि बढ्ने बताए ।
प्रतिशोधको राजनीति गर्ने बालेन, ओलीहरु त्यहाँको जन्ती, मलामी नरहेको उनको भनाइ छ । आफू त्यहाँको स्थानीय भएको र त्यही खाइखेली हुर्केको, पढेको र सुख–दुःखमा साथ दिँदै आएको उनले बताए । त्यहाँको स्थानीय मतदाताले आफूलाई मत दिने र जिताउने विश्वासको साथ जनतामा जान लागेको उनले बताए ।
उनले आफू फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विगतदेखि नै जनतासँग र मतदातासँग जोडिइराखेको बताए । झापा ५ को विकास निर्माणदेखि लिएर समस्या, सजिला–अप्ठ्याराहरुमा पनिआफ्नो प्रत्यक्ष सहभागिता रहँदै आएको उनले स्मरण गराए । म अहिलेमात्रै नभएर विगतदेखि नै त्यहाँको राजनीति जिम्मेवारी त्यहीँ भएको, घर त्यहीँ भएको हुनाले पनि आफू चुनावी प्रतिस्पर्धामा होमिएको उनले बताए ।
‘अब पार्टीले टिकट दिइसकेपछि अहिलेको मूल–मूल राजनीतिक विषयहरुलाई समेटेर जनताको घर दैलोमा जान्छु । मतदाता, जनता र युवाहरुलाई भेट्छु । आफ्नो धारणा राख्छु । यो निर्वाचनबाट अहिलेको संकटको समाधान निकाल्नको निम्ति मतदाताहरुले कुनै आवेगमा र लहडमा नभइ त्यस्तो उम्मेदवारलाई मत दिनुपर्छ, जसले त्यहाँको जनताको आवाज, त्यहाँको मतदाताको सुख, दुःखमा साथ देओस् । यिनै कुराहरु लिएर जनताको घर–घरमा जाने तयारीमा छु,’– रिपोर्टर्स नेपालसँग उनले भने ।




प्रतिक्रिया