काठमाडौैं, ३ माघ । नेपाली कांग्रेसले विभिन्न कारणले निष्कृय रहेका र पार्टी छाडेका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा जोडिन आह्वान गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा आज (शनिबार) बानेश्वरमा बसेको बैठकले पूर्व कांग्रेसीहरुलाई पार्टीमा पुनः जोडिन हार्दिकतापूर्वक आह्वान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालगायतका नेताहरूले काग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गरेको छ । बैठकले निवर्तमान सभापति देउवाको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत लिएको छ ।
बैठकले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नहुने प्रतिबद्धता दोहर्याएको छ । कांग्रेस सदैव मूल्य र सिद्धान्तमा अडिग रहने र संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने बताइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरूः
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित–हार होइन, यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३. विभिन्न कारणले पार्टीबाट निष्कृय रहनुभएका, विभिन्न कारणले पार्टी छाड्नुभएका सबै साथीहरूलाई पार्टीमा पुनः जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४. यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवालगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठक श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौं। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौं । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौं।
६. यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको । सबैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सबैमा अनुरोध छ ।




प्रतिक्रिया