काठमाडौं, ३ माघ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सरकारको निर्णय दुषित रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेलाई सांसद, मन्त्री र प्रधानमन्त्री बनाउनका लागि राजनीतिक उद्देश्यका साथ मुद्दा फिर्ता लिइएको बताए ।
‘रवि लामिछानेले राजनीति गर्छन्, उनको पार्टी छ, उनी सभापति छन् । उनलाई सांसद बनाउनुपर्छ, भोलि मन्त्री, प्रधानमन्त्री बनाउनुपर्छ भन्ने निहित राजनीतिक उद्देश्यका साथ यो निर्णय गरिएको छ । यो निर्णय दुषित छ । राजनीतिक रुपमा प्रायोजित र कानुनको शासन विपरीत छ । यो निर्णय निन्दनीय छ,’– उनले भने ।
महान्यायाधिक्ता सविता भण्डारीले रास्वपा सभापति लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई, सञ्चालक छविलाल जोशीलगायतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेकी थिईन् । उक्त मुद्दा फिर्ता लिइएसँग आसन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको खण्डमा लामिछानेको संसद् छिर्ने बाटो खुल्ला हुनेछ ।




प्रतिक्रिया