टी-२० महिला विश्वकप ग्लोबल छनोट आजबाट, चार खेल हुँदै


काठमाडौं, ४ माघ । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट आजबाट शूरू हुँदैछ । आजबाट हुने छनोटमा १० टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् ।

छनोटको पहिलो दिन आज चार खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र जिम्माब्वे तथा दोस्रो खेलमा आयरल्याण्ड र पीएनजी भिड्नेछन् । पहिलो खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । दुवै खेल बिहान ९ बजे शुरू हुनेछ । आजै हुने तेस्रो खेलमा बंगलादेश र अमेरिका तथा चौथो खेलमा नेपाल र थाइल्याण्ड भिड्नेछन् । खेल दिउँसो १ बजे शुरू हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल घरेलु मैदानमा जित निकाल्दै छनोटको शुरूवात गर्ने लक्ष्यमा रहेको छ । तर उपाधि दाबेदार थाइल्याण्डमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । नेपाल थाइल्याण्डसँग भएको पछिल्लो सात भेटमा पराजित भएको छ । गत मेमा आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत भएको खेलमापनि नेपाल थाइल्याण्डसँग स्तब्ध बनेको थियो ।

ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह ‘बी’ मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ‘ए’ मा रहेका छन् । समूह चरणबाट शीर्ष ३/३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली यसै वर्ष इंग्ल्याण्ड र वेल्समा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।