बालेनलाई झापा ५ बाट चुनाव हराएर आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने दाउमा रवि


काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाहलाई चुनावबाट पराजीत गराउनकै लागि झापा ५ बाट उम्मेदवार बनाउन खोजेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेनलाई चुनाव हराएर आफैं प्रधानमन्त्रीको दाबेदार बन्ने दाउमा रवि रहेको आरोप लगाएका हुन् । झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दा बालेनको हार निश्चित रहेको पनि उनले दाबी गरे ।

‘लेखेर राख्नुस्– बालेन शाह भित्ताको प्रधानमन्त्री हुने हो । बालेन शाहलाई झापा ५ मा पठाएर खुर्मुर्याएर प्रधानमन्त्रीको दाबेदार हुने रवि लामिछाने हो रास्वपाको । चुनाव हारेपछि कहाँबाट प्रधानमन्त्री बन्नुहुन्छ बालेन शाह ? उहाँको कुनै ग्राउण्ड छैन, चुनाव जित्दै जित्नुहुन्न,’– नेता थापा क्षेत्रीले भने ।

उनले बालेनलाई ‘युरिया हालेको रातो मुला’ सँग तुलना गर्दै उनी हलक्क बढे पनि कुनै स्वाद नरहेको टिप्पणी गरे । एमाले अध्यक्ष ओली र बालेनबीच तुलना गर्नै नसुहाउने उनको टिप्पणी छ । बालेनको तुलना आफूसँग पनि गर्न नसुहाउने नेता थापाले बताए । उनले बालेनलाई भाइको संज्ञा दिए ।

‘बालेन शाह त मेरो पनि भाइ हो । मसँग पनि तुलना हुँदैन । कहाँको केपी शर्मा ओलीसँग तुलना गर्नुहुन्छ भनेको ? म पार्टीको केन्द्रमा १२ वर्षदेखि छु । बालेनजी त एक महिना पनि भएको छैन नि एउटा पार्टीमा प्रवेश गरेको,’– उनले भने ।