वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको बैठक


काठमाडौँ, ४ माघ । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे ।

उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पुर्याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

विसं २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत थिए । स्व बोहराको निधनप्रति सभाले शोक प्रस्ताव पारित गरेको छ ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ ।