ओलीलाई बूढै प्यारोः रिजालले दुखाए चित्त


काठमाडौं, ४ माघ । नेकपा (एमाले) का केन्द्रीय नेता विष्णु रिजालले पार्टीले टिकट नदिएपछि चित्त दुखाएका छन् । रिजालले फेसबुकमा स्टाटस लेख्दै जिल्ला र प्रदेश समितिको रोजाइमा पहिलो स्थानमा आफूलाई उम्मेदवार शिफारिस गरे पनि अध्यक्ष केपी ओलीको रोजाइमा पर्न नसकेको भन्दै गुनासो गरेका हुन् । प्रतिनिधिसभाको उम्मेदवार छान्ने दलको आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाउने उनलाई एमाले नेतृत्वले टिकट नदिएपछि उनले आफ्नो मत सार्वजनिक गरेका छन् ।

एमालेले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका केही नेतालाई पाखा लगाउँदै दैलेख–२ मा अन्यलाई टिकट दिएको छ । रिजाल सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए । तर, शनिवार बसेको एमाले सचिवालय बैठकले त्यहाँ लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दैलेख–२ मा क्षेत्रीय समितिले मतदानमार्फत उम्मेदवार शिफारिस गरेको थियो । सो प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा शिफारिस भएका थिए । टिकट पाउने लक्ष्मीराज पोखरेलले ६६ मत प्राप्त गरेका थिए ।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट एमालेका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा शिफारिश भएको थिएँ । जिल्ला र प्रदेश समितिले पनि पहिलो नम्बरमै शिफारिश गरेका थिए । तर, तेस्रोपटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’

उनले आफू सात वर्षको हुँदा वि.सं २०४३ मा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको भन्दै ओलीको व्यंग्य गरेका छन् ।

‘नेतृत्वले म सात बर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ । पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन,’ रिजालले भनेका छन् ।

आफू राजनीतिमा स्वेच्छाले लागेको र अब पनि दैलेखी जनता, देश अनि आफूसम्बद्ध दललाई सकेको योगदान गर्नमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

‘मैदानमै छु र मैदानमै हुनेछु,’ उनले लेखेका छन्, ‘२०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु ।’

उनले आजका दिनसम्म आफू कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको दाबी पनि गरेका छन् । ‘विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएका व्यक्तिले आफूमात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद छ,’ रिजालले लेखेका छन्, ‘लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरूप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’

पुराना पत्रकार रिजाल वि.सं २०७४ को निर्वाचनदेखि नै टिकटका आकाङ्क्षी थिए ।