काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले हार्ने चुनाव लड्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह झापा ५ मा नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्दा बालेनको हार निश्चित रहेको बताएका हुन् । ‘मलाई लाग्छ उहाँ जानुहुन्न । जानुभयो भने पनि उहाँ हार्ने निश्चित छ । हार्नका लागि कोही मान्छे चुनावमा उड्छजस्तो लाग्दैन मलाई,’– उनले भने ।
नेता दाहालले झापा ५ मा केपी शर्मा ओलीले २८/२९ हजारको मतान्तरले जित्दै आएको बताए । अहिलेको परिस्थितिमा झन ओली अपरिहार्य व्यक्ति भइसकेको उनको भनाइ छ । देश जलिरहेको अवस्थामा यसो गर्न हुँदैन भनेर विरुद्धमा लाग्ने एकमात्रै व्यक्ति ओली रहेको पनि उनले बताए । झापा ५ मा बालेन गए पनि कडा प्रतिस्पर्धा नहुने उनको बुझाइ छ ।
‘कडा प्रतिस्पर्धा हुँदैन । झापाका मान्छेहरुलाई किन मुर्ख ठानिराखेका छन् । कहाँको मान्छे त्यहाँ गएर लड्दाखेरी भोट दिन्छन् भनेर किन मान्छेहरुले मुर्ख ठानिराखेका छन् ? अचम्म लाग्छ मलाई त,’– उनले भने ।




प्रतिक्रिया