काठमाडौं, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । महान्यायाधिक्ताको कार्यालयको उक्त निर्णयविरुद्ध सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् ।
रिट निवेदकले महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिलको कार्यालय र रास्वपाका सभापति लामिछानेलाई प्रतिवादी बनाएर सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । उक्त रिट आज दर्ता भएको हो । सो रिट सुनुवाइका लागि आगामी माघ ६ गते मंगलबारको लागि पेशी तोकिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीबाट पुस ३० गते भएको उक्त निर्णय गैरकानूनी रहेको रिट निवेदकको दाबी छ । उक्त निर्णय गैरकानूनी रहेकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । साथै, उक्त निर्णय कार्यान्वयन गर्न जारी गरिएको पत्राचार एवं निर्देशनहरुसमेत बदर गर्न माग गरिएको छ ।
साथै, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग संवद्ध अपराधको अभियोगलाई कमजोर बनाउने कार्यमा महान्यायाधिवक्ताको कार्यालय तल्लीन रहेको देखिएको रिट निवेदकको दाबी छ । उक्त मुद्दालाई कमजोर बनाउने र प्रतिकूल असर पार्नेगरी आफ्नो संस्थाको मर्यादाविपरीत कुनै पनि काम कारबाही नगर्नु भनी परमादेशको आदेश जारी गरिपाउन पनि माग गरिएको छ ।
साथै, उक्त गैरकानूनी निर्णय यो रिटको अन्तिम फैसला नभएसम्म कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेशको समेत माग गरिएको छ ।




प्रतिक्रिया