काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको लागि समय सार्न अनुरोध गरेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुँगो नलागेको कारण देउवा पक्षले निर्वाचन आयोगसमक्ष यस्तो आग्रह गरेको छ । आजमात्रै देउवा पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालत गएको छ ।
देउवा पक्षले अदालतबाट आफ्नो पार्टीको आधिकारिकता टुंगो नलागेसम्म प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन लगायत सबै निर्वाचन कार्यतालिका स्थगन गर्न निवेदन दिएको छ । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । देउवा पक्षलाई पनि निर्वाचनमा समेट्नको लागि प्रधानमन्त्री सुशीला कार्की सकारात्मक बनेकी छिन् ।
उनले अहिले बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल थालेकी छिन् । प्रधानमन्त्रीले देउवा समूहलाई पनि निर्वाचनमा सामेल गराउनुपर्ने मत राखेकी छिन् । बढिमा एक साता निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको लागि समय सार्नसकिनेगरि प्रधानमन्त्रीलाई सुझाव दिईएको छ । यसबारेमा आज साँझसम्म एउटा निर्णय दिने प्रधानमन्त्रीको तयारी छ ।




प्रतिक्रिया