काठमाडौँ, ५ माघ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएक छन् ।
तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ, प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उनले यस पर्वले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् । रासस




प्रतिक्रिया