वरिष्ठ अधिवक्ता डा.भण्डारीको आह्वानः समलिङ्गी विवाहका पक्षधर रवि र रास्वपालाई ‘नो भोट’


काठमाडौं, ५ माघ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले समलिङ्गी विवाहका पक्षधर रवि लामिछाने र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्न आग्रह गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्री भएको बेलामा रविले सबै सीडीओ कार्यालयहरुमा समलिङ्गी विवाह दर्ता गर्नका लागि निर्देशन दिएको बताए । समलिङ्गी विवाहले नेपालमो सम्यतामाथि आक्रमण गरेको उनको दाबी छ ।

‘रवि लामिछाने गृहमन्त्री हुँदा प्रत्येक सीडीओ कार्यलयलाई निर्देशन दिनुभयो समलिङ्गी विवाहलाई दर्ता गर भनेर । समलिङ्गी विवाह दर्ता गर्नु भनेको यो मुलुकको सम्भयतामाथि आक्रमण गर्नु हो । यो मुलुकलाई तहसनहस गर्नु हो । त्यसैले म भन्छु– नो भोट रवि लामिछाने । नो भोट रास्वपा,’– उनले भने ।

डा.भण्डारीले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एमसीसी पक्षधर गगन थापाको विरुद्धमा आफूले उम्मेदवारी दिएको बताए ।