लिखु गाउँपालिका उपाध्यक्ष थापाले दिईन् राजीनामा, संसदीय निर्वाचनमा होमिईन्


काठमाडौं, ५ माघ । ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले पदबाट राजीनामा दिएकी छन् । नेकपा (एमाले) ले आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएसँगै उपाध्यक्ष थापाले पदबाट राजीनामा दिएकी हुन् । पदबाट राजीनामा दिएकी उपाध्यक्ष थापालाई गाउँपालिकाले भव्य विदाइ गरेको छ ।

उनले आफ्नो पार्टी एमालेले फरक भूमिका र जिम्मेवारी दिएको कारण पदबाट राजीनामा दिनुपरेको बताएकी छन् । उनले भनेकी छन्, ‘मलाई मेरो पार्टी एमालेले फरक जिम्मेवारी र भूमिकामा जानका लागि गरेको निर्णय बमोजिम मैले गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी छु । पदबाट राजीनामा दिए पनि मेरो आफ्नो घर लिुख र यो घरका सबै पारिवारिक सदस्यप्रति अहिलेजस्तै बफादार,इमानदार र उत्तरदायी भएरै रहनेछु ।’

उनले अब ओखलढुङ्गावासी जनताको आवाजलाई स्थानीय तहबाट संसदसम्म पुर्याउने संकल्पसहित पार्टीको निर्देशनबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएकी छन् । लिखु गाउँपालिकाको उपाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मृदवार बन्ने निर्णय व्यक्तिगत पदको लालसा नभएर पार्टीको निर्णय र आवश्यकता रहेको पनि उनले प्रष्ट पारेकी छन् ।

लिखुको समस्या, सम्भावना र सपनालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने थप जिम्मेवारीका रुपमा आफूले अहिलेको अवसरलाई लिएको पनि बताएकी छन् ।