काठमाडौं, ५ माघ । रिपोर्टर्स क्लब नेपालमा सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफू राजनीतिमा गएको खण्डमा १० वर्षमा नेपाललाई सम्पन्न राष्ट्र बनाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकारहरुसँग साक्षत्कार गर्दै उनले नेपाललाई सबल र सक्षम राष्ट्र बनाउनका लागि आफूलाई १० वर्षको समय चाहिने बताएका हुन् । नेपाललाई सक्षम राष्ट्र बनाउने योजना र कार्यक्रम आफूसँग रहेको उनले बताए । मधेश र कर्णालीको जनताप्रति आफ्नो सबैभन्दा धेरै प्रेम रहेको पनि उनले बताए ।
‘यदि म राजनीतिमा गएँ भने १० वर्षमा नेपाललाई सम्पन्न राष्ट्र बनाउने छु । नेपाललाई सवल, सक्षम बनाउनका लागि १० वर्षको समय मलाई चाहिन्छ,’– उनले भने ।
उनले आफूले राजनीतिलाई समाज सेवाको रुपमा बुझेको र देश बनाउनका लागि आफू राजनीतिमा आउन लागेको बताए । राजनीति र सत्तालाई भ्रष्टाचार गर्ने ठाउँ बनाउन नहुने उनको भनाइ छ । धमलाले आफू चुनावी प्रतिस्पर्धामा होमिएको खण्डमा रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने पनि बताए । आफू भोलि (मंगलबार) रौतहट जाने र त्यहाँका जनताको चाहनाअनुसार निर्णय गर्ने उनले बताए ।
आफू राजनीतिमा आएपछि शिक्षा र स्वास्थ्य निशुल्क गर्नका लागि पहल गर्ने पनि उनले बताए । देशमा शिक्षा र स्वास्थ्य निशुल्क गरेको खण्डमा भ्रष्टाचारसमेत न्यूनीकरण हुने उनको बुझाइ छ । उनले आफूसँग जनतालाई शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउने योजना, कार्यक्रम र नीति रहेको उनले बताए ।
उनले आफू नारामा मात्रै नभएर धरातलीय यथार्थतामा गएर देश बनाउन सक्ने सामर्थ्य राख्ने पनि बताए । गाउँघरका लाखौं युवाहरु किन विदेश गइरहेका छन् भन्ने कुरा आफूलाई जानकारी रहेको उनले बताए । उनले आफू मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा नजाने पनि बताए । समाज सेवा गर्न राजनीतिमा जान लागेको उनले बताए । राजनीतिमा गएपछि सञ्चारकर्ममा नफर्किने पनि उनले बताए । ‘म राजनीतिमा गएपछि सञ्चारकर्ममा फर्किन्नँ,’– उनले भने ।




प्रतिक्रिया